काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली वाङ्मयका क्षेत्रमा महत्त्वपूर्ण र विशिष्ट योगदान पुर्याउनुभएको छ ।
उहाँका नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा अनेक विषयका करिब छ दर्जन जति सिर्जनात्मक, अनुसन्धानात्मक कृति प्रकाशित छन् ।
बहुमुखी प्रतिभाका धनी जोशीको एक सय तीन वर्षको उमेरमा आज ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भएको हो ।
उहाँप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, साहित्य तथा संस्कृतिकर्मी अस्पताल पुग्नुभएको छ । उहाँ काव्यकार, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार, समालोचक, कोषकार, अनुवादक र सम्पादकका रूपमा समेत प्रसिद्ध हुनुहुन्थ्यो ।
उहाँ लोक साहित्य, लोक संस्कृति, संस्कृति, कला र कलाकार, पुरातत्त्व, नेपाली राष्ट्रिय मुद्रा, धर्म र दर्शन आदि विषयका मौलिक र अनुदित कृति प्रकाशित गरेर संस्कृतिविद्, कुशल अन्वेषक र अनुसन्धाताका रूपमा स्थापित र प्रतिष्ठित हुनुहुन्छ ।
राष्ट्रको प्रशासनिक सेवामा औद्योगिक सुपरिवेक्षक, सङ्ख्या विभागका सुपरिटेण्डेन्ट, राष्ट्रिय योजना परिषद्का प्रोग्राम अफिसर, पुरातत्त्व र संस्कृति विभागका डाइरेक्टर बनी उहाँले उत्कृष्ट राष्ट्र सेवा गर्नुभएको छ ।
उहाँले चीनमा नेपाली भाषाका प्रशिक्षक, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा विशेषज्ञ र प्राध्यापकका रूपमा कार्य गरी उच्च शिक्षाको क्षेत्रमा विशेष योगदान दिनुभयो । संस्कृतिविद् नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव र नेपाली भाषाका अकादमीका कुलपतिको रूपमा कार्य गरी नेपाली प्रज्ञाको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । कर्णालीको भाषा, साहित्य र संस्कृति प्रकाशनमा उहाँ र उहाँको समूहको ठुलो योगदान रहेको छ ।
उहाँ अनेकौँ सङ्घसंस्थाका संस्थापक र सञ्चालक हुनुहुन्थ्यो । उहाँ राष्ट्रका लागि दिएका अमूल्य योगदानको मूल्याङ्कन गर्दै नेपाल सरकार र अन्य सङ्घसंस्थाले अनेक सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत, मानार्थ महाविद्यावारिधि उपाधिबाट विभूषित तथा वाङ्मय शताब्दी पुरुष सम्मानबाट सम्मानित हुनुहुन्थ्यो ।
उहाँले तीन पटक प्रसिद्ध मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । शताब्दी पुरुष जोशी नेपालका सच्चा सपूत, असली रत्न, नेपाली ज्ञानोदयका सूत्रधार, नेपाल राष्ट्रका गौरव र अजम्मरी राष्ट्रिय सम्पदाका रूपमा रहनुभयो । अत्यन्त लगनशील, सृजनशील र ओजस्वी व्यक्तित्वको उहाँको छवि थियो । जोशी समाजका सबै वर्ग समुदाय तथा तह र तप्का प्रेरणाका स्रोत हुनुहुन्थ्यो । रासस