३० असार २०८३, मंगलबार 1784092501
Banner

भारोत्तोलनमा प्रहरीकी जुनमाया छन्त्यालको स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारोत्तोलन खेलमा नेपाल प्रहरीकी खेलाडी जुनमाया छन्त्यालले स्वर्ण पदक जितेकी छन् ।पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आज भएको खेलमा महिला ७१ केजी तौल समूहमा जुनमायाले स्न्याचतर्फ ७८ किलोग्राम र क्लिन एण्ड जर्कमा ८९ किलोग्राम गरी कूल १६७ किलोग्राम तौल उठाएर स्वर्ण जितेकी हुन् ।

यसैगरी एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लिन एण्ड जर्कमा ६५ गरी कूल ११७ किलोग्राम भार उठाएर रजतपदक हात पारिन । नेपाल प्रहरीकी सरस्वती पुरीले स्न्याचमा ५० र क्लिन एण्ड जर्कमा ६५ गरी कूल ११५ किलोग्राम भार उठाउदै कास्य पदक जितिन ।

महिला ६४ केजी तौल समूहमा नेपाल आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लिन एण्ड जर्कमा ८० गरी कूल १४७ किलोग्राम भार बहन गर्दै स्वर्ण पदक जितिन । नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लिन एण्ड जर्कमा ७१ गरी कुल १२८ किलोग्राम भार वहन गर्दै रजत जितिन् ।

नेपाल आर्मीकी प्रशंसा पुनले कास्य पदक जितिन् । उनले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६५ गरी कूल ११८ किलोग्राम भार वहन गरेकी हुन् ।

बुधबारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० विधामा खेल भइरहेको छ । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १७२ खेलाडीले भाग लिएका छन् ।