८ मंसिर २०८१, शनिबार 1732426123
Banner

ईश्वर पोखरेल र नारायण सिलवालप्रति मतदाताको भरोसा (तस्विरसहित)

काठमाण्डौ । नेकपा एमालेको काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ को निर्वाचन परिचालन कमिटीले आज चियापान कार्यक्रमको आयोजना गरेको छ ।

दिपावली, नेपाल संवत ११४३, छठ तथा ल्होसार पर्वका अवसरमा कमिटीले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

काठमाण्डौ महानगर वडा नम्बर ४ मा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा काठमाण्डौ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेल र केन्द्रीय सदस्य तथा काठमाण्डौ क्षेत्र नम्बर ५ १ को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालको उपस्थितीमा चियापान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ४ को एमालेका नेता, कार्यकर्ता तथा स्थानीय जनताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

शुभकामना आदानप्रदानमा उपस्थित जेष्ठ नागरिकले उम्मेदवारद्धय पोखरेल र सिलवालाई आशिर्वाद प्रदान गरेका थिए । उपस्थित सबैले निर्वाचनमा एमालेका उम्मेदवारलाई निर्वाचित गराउनु नै मुलुकका लागि आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा उपस्थित युवाहरुले खेलमैत्री वातावरण सृजना गर्नका लागि पोखरेल र सिलवाललाई आग्रह गरेका थिए । युवाहरुको आग्रहलाई दुवै उम्मेदवारले सकारात्मक रुपमा लिएको भन्दै युवावर्गको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । केही युवाहरुले पोखरेल र सिलवालाई तिहारका अवसरमा देउसी भैलो कार्यक्रममा सहभागि हुन पनि आग्रह गरेका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा निर्वाचित भएका पोखरेल र सिलवालले ५ वर्षको अवधिमा गरेको कामको प्रशंसा गर्दै यसपटक पनि विजयी गराउन आफूहरु तयार रहेको धारणा कार्यक्रममा उपस्थित सर्वसाधारणले राखेका थिए ।

प्रतिनिधिसभा सदस्य पोखरेल, प्रदेश सांसद सिलवाल र वडाको पहलमा वडा नम्बर ४ मा शंखपार्कसहित १५ वटा पार्क निर्माण भएको थियो । जसका कारण पनि त्यस क्षेत्रका नागरिकले एमालेबाट निर्वाचित जनप्रतिधि नै विकास निर्माणका लागि आवश्यक भएको बताउने गरेका छन् ।

चियापान कार्यक्रमका तस्विरहरु :