काठमाडौँ — कालीकोटमा शनिबार बिहान ८ बजे बम विस्फोट हुँदा दुई जना बालिकाको मृत्यु भएको छ । उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो भने ३ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । यस्तै, ४ वर्षकी सरस्वती रानाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु उनले बताए ।
प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार बम नयाँ वा पुरानो हो भन्ने अनुसन्धान भइरहेको छ । घटनास्थलमा ससाना फलामका टुक्रा भेटिएकाले सकेट बम हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशंका गरिएको छ । मुख्य सडकभन्दा पर विस्फोट भएकाले बम पुरानै हुन सक्ने आशंका गरिएको उनको भनाइ छ । बालबालिका जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुंगा हान्दा बम विस्फोट भएको प्रजिअ शर्माले बताए ।
घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा गम्भीर घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।