२३ भदौ २०८३, मंगलबार 1788923927
Banner

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ सैनवारकी ४१ वर्षीया लिली चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाहिर निस्केको समयमा मंगलबार बेलुकी सवा ८ बजेतिर बाघले लिलीलाई झम्टिएर गम्भीर घाइते तुल्याएको थियो ।

घाइते चौधरीको उपचारका क्रममा भुरीगाउँमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको श्रेष्ठले बताउनुभयो । ‘निकुञ्ज र गाउँको सीमा क्षेत्रको वनमा प्रवेश गरेको समयमा उहाँलाई बाघले झम्टिएछ,’ श्रेष्ठले भन्नुभयो, ‘हामीले उहाँलाई उद्धार गरी उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।’

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ। स्थानीयका अनुसार उनी शौच गर्न जंगलतर्फ गएको समयमा बाघले झम्टिएको थियो। झम्टिएको देखेपछि स्थानीयले होहल्ला गरेपछि बाघ छोडेर भागेको थियो।