गोरखा — प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार अब्दुस मियाँको चुनाव प्रचार टोलीमाथि आक्रमण भएको छ । आइतबार राति पालुङटार नगरपालिका-६ च्याङलीस्थित एक होटलमा बसिरहेका प्रचार टोलीलाई एक समूहले आक्रमण गरेको जनाइएको छ । आक्रमणबाट नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य हरि काफ्ले घाइते भएको प्रहरीले जनाएको छ ।
उनको टाउकोमा सातवटा टाँका लगाइएको छ । तनहुँको डुम्रेमा रहेको स्वास्थ्य संस्थामा उपचार भएको छ । आक्रमणमा संलग्न तनहुँका अजित पन्त र राम सापकोटालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । आइतबार राति साढे ११ बजे घटना घटेको प्रहरीले जनाएको छ । पालुङटारको म्याङ्गो रिसोर्ट पुगेर एक समूहले खाना खाँदै गरेको टीमलाई आक्रमण गरेको हो ।
आक्रमणबाट होटलको टेबुल, कुर्सि तोडफोड भएको छ । खाइरहेको खाना छरिएको छ । घटनाको बेला अब्दुस भने चुनावी प्रचारमा हुनुहुन्थ्यो ।
आक्रमणबाट एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ । उहाँलाई स्थानीय स्वास्थ्य संस्थामा ७ वटा टाँका लगाएर थप उपचारका लागि काठमाडौं लगिएको छ ।