३ मंसिर २०८१, सोमबार 1731910040
Banner

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज, २६ सांसदले मातृभाषामा शपथ लिर्दै

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदको शपथ आज हुँदै छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रतिनिधि सभामा निर्वाचित अन्य सदस्यलाई शपथ गराउँदै छन् । शपथ दिउ“सो १ बजे हुने संसद् सचिवालयले जनाएको छ ।

सपथ ग्रहणमा २६ जना नवनिर्वाचित सांसदहरूले मातृभाषामा शपथग्रहण गर्ने भएका छन् । शपथग्रहण समारोहका उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।

उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् ।

बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । संविधानमा ज्येष्ठ सदस्यलाई राष्टपतिले र अन्य सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने उल्लेख छ ।

यस्तै, सभामुख चयन नुहँदासम्म ज्येष्ठ सदस्यले नै बैठक सञ्चालन गर्ने व्यवस्था संविधानमा छ । सोही व्यवस्थाअनुसार जबराले सभामुख चयन नहुँदासम्मका लागि संसद्को नेतृत्व गर्नेछन् ।

जबरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित भएका थिए । प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक तर्फबाट निर्वाचित १ सय १० जनामध्ये ज्येष्ठ सदस्य जबरा नै रहेको भन्दै निर्वाचन आयोगले संसद् सचिवालयलाई पत्र पठाएको थियो । उनी ८१ वर्षका हुन् ।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछिको संसद्को पहिलो बैठकको सञ्चालन गर्दै ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले शपथ गराएका थिए ।

शपथअघि सर्वदलीय बैठक
प्रतिनिधिसभाका सदस्यको शपथअघि सर्वदलीय बैठक हुँदै छ । संसद् सचिवालयले प्रतिनिधिसभाको कामकारबाहीको प्रक्रिया जानकारी दिन भन्दै ज्येष्ठ सदस्यका रूपमा राष्टपतिबाट शपथ लिएका पशुपतिशमशेर जबराको अध्यक्षतामा बिहीबार आज १२ बजेका लागि सर्वदलीय बैठक डाकेको हो ।

संसद् सचिवालयले १ बजेका लागि सांसको शपथ तोकेको छ । त्यसअघि १२ बजे सर्वदलीय बैठक बस्ने गरी प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलबाट एक एक जना र स्वतन्त्र पाँच जना सांसदलाई संसद् सचिवालयले बैठकमा डाकेको हो ।