काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरुलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका हुन्।
उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताए।
उनले राज्यले कुनै पनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए। प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्याउनुपर्ने बताए।
उनले प्रविधिहरुको प्रयोग गर्दै गर्दा त्यसको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए।
उनले भने, ‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्नसक्ने मान्छे हुनुपर्यो। नयाँ प्रविधिलाई। हामीकहाँ उदाहरणहरु छन् छिमेकी मुलुकहरुमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्नेखालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो। यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिदाखेरी हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौँ। त्यसको उपाय एउटै हो हामीले सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्यो। विश्वसनीयताको प्रत्याभूति पनि दिलाउन सक्नुपर्यो। त्यो कुराहरुमा आस्वस्त पार्नसक्यो भने नयाँ नयाँ प्रविधिहरुलाई सरकारलाई अंगिकार गर्न सहज हुनेछ।’