काठमाडौं । नेकपा (एमाले)ले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो ।
अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । पन्ध्रौँ सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।
कुन प्रदेशमा को ?
प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले २ महिने अभियानको अनुगमन गर्दा फिल्ड कमाण्डरका रुपमा सचिव टोपबहादुर रायमाझी तोकिएका छन् । त्यस्तै मधेस प्रदेशको अनुगमन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने सचिव रघुवीर महासेठ फिल्ड कमाण्डर हुनेछन् ।
वागमतीमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले अनुगमन र सचिव गोकर्ण विष्टले फिल्ड कमाण्ड गर्दा गण्डकीमा उपाध्यक्ष युवराज ज्ञवाली अनुगमनमा खटिएका छन् भने सचिव पद्मा अर्याल फिल्ड कमाण्डर तोकिएकी छन् ।
त्यस्तै लुम्बिनीमा अनुगमनको जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादलले पाएका छन् भने सचिव छविलाल विश्वकर्मा फिल्ड कमाण्डर तोकिएका छन् । कर्णालीमा उपाध्यक्ष सुवास नेम्वाङ अनुगमन र सचिव योगेश भट्टराई फिल्ड कमाण्डर तोकिएका छन् ।
सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल अनुगमन र सचिव लेखराज भट्ट फिल्ड कमाण्डर तोकिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।