८ मंसिर २०८१, शनिबार 1732352206
राजनीति

पार्टीले बेवास्ता गरेको र प्रयोग मात्र गरेको भन्दै पूर्वमन्त्री विमला वलीद्वारा माओवादी केन्द्र परित्याग

देउखुरी – लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमलाकुमारी वलीले नेकपा माओवादी केन्द्र परित्याग गर्नुभएको छ। उहाँले गत २४ गते पार्टीको दाङ जिल्ला कमिटीमा राजीनामापत्र बुझाउनु भएको हो।

राजीनामापत्रमा वलीले आफूलाई पार्टीले बेवास्ता गरेको र प्रयोग मात्र गरेको उल्लेख गर्नुभएको छ। उहाँले राजीनामा पत्रमा भन्नुभएको छ, ‘माओवादी प्रवेशलाई संघर्षका रूपमा बुझेँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो। यो बीचमा केही उत्तार चढाव आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो। त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गर्दछु।’

२०७४ सालको चुनावमा दाङबाट प्रदेश सांसद जितेका एमालेका उत्तरकुमार वलीको निधनपछि पत्नी विमला उपनिर्वाचनमा विजयी हुनुभएको थियो। त्यसबेला नेकपा एमाले र माओवादी केन्द्रबीच एक भएको बेला ‘नेकपा’ कायम थियो। सर्वोच अदालतबाट नेकपा विभाजन भएपछि उहाँले माओवादी केन्द्र रोज्नुभएको थियो ।

लेनदेनको विषयमा एकजना महिला र बालिकामाथि हातपात गरेको भन्दै विवादमा तानिएपछि उहाँले राज्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।

वलीले सापटी पैसा लिन जाँदाको विषयलाई लिएर जबरजस्ती मन्त्रीबाट राजीनामा दिन लगाएको उल्लेख गर्नुभएको छ । राजीनामा पत्रमा उहाँले भन्नुभएको छ, ‘ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेको इतिहास हामीसामू छन्, तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा दिन लगाइयो। त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन।’