काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजनीतिक समीकरणमा आएको फेरबदलले मुलुक पुनः सत्ताकेन्द्रित अस्थिरतातर्फ धकेलिएको बताएको छ।
शनिबार बसेको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहन अनुपयुक्त हुने ठहर गर्दै सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको छ। राप्रपाले संघ सरकार र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिनेसमेत निर्णय गरेको छ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै पृष्ठभूमिमा माघ ३ गते हामी सरकारमा समेत सहभागी भई क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको छ। यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ। परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं। साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको छ ।’
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन्।