१३ श्रावण २०८३, बुधबार 1785344398
Banner

सन्दीपको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ।आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ।

लामिछानेमाथि एक नाबालिकलाई बलात्कार गरेको आरोप छ। उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ । तर पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त आदेशमा विदेश जान पनि सरकारको अनुमति लिनुपर्ने उल्लेख छ।

त्यसविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेश गरेको थियो। सन्दीपले पनि आफू क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए। यी दुवै निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो।

सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा बहस हुनेछ ।

शुक्रबार नै लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पेश गरेको निवेदन पेशीमा तोकिएपछि ‘हेर्न नभ्याइने’ कारण सुनुवाइ हुन सकेको थिएन । सर्वोच्च अदालतको एकल इजलासले त्यो निवेदनसहित लामिछानेले विदेश जान अनुमती माग गरेको निवेदनलाई एक साथ पेश गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने उनलाई साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन।