८ मंसिर २०८१, शनिबार 1732347876
Banner

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो। बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएको सन्दर्भमा आज ११ बजे पार्टी सचिवालयको बैठक बस्न लागेको जानकारी दिएका छन्।

राष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा एमाले नेताहरुले राष्ट्रपतिको निर्वाचनसम्म सरकार नछाड्ने बताएका थिए । आइतबार परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा जेनेभा जान रोक लगाइएपछि एमाले सरकारबाट बाहिरिनुपर्ने आवाज पुनः उठेको छ ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससहितको आठ दलीय गठबन्धन बनाएपछि एमाले उनीसँग रुष्ट छ । सोही आठ दलीय गठबन्धनले कांग्रेसका पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएको हो। त्यसलगत्तै एमालेमा सरकारबाट हट्ने कि नहट्ने भन्ने भइरहेको छ। राप्रपाले भने सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिइसकेको छ।