विराटनगर- सातवर्ष देखि नामको विवादमा अल्झिएको प्रदेश नं १ मा आज कोशी नाम सहित प्रदेश सभामा प्रस्ताव दर्ता भएको छ । नेकपा एमालेका प्रदेशसभा सदस्य रामबहादुर मगरले संसद सचिवालयमा प्रस्ताव पत्र दर्ता गर्दै प्रदेशको नाम कोशी राख्नु पर्ने माग अघि सार्नु भएको छ । मगरको प्रस्तावलाई नेपाली काँग्रेसका सदस्य भूमीप्रसाद राजवंसी र एमालेका निरन राईले समर्थन गर्नुभएको छ ।
प्रस्तावमा यस प्रदेशमा बस्ने सम्पूर्ण जातजाती र धर्मीहरु कोशी नदीको प्रवाह भित्रै पर्ने भएकोले प्रदेशको नाम कोशी राख्नु उपयुक्त हुने तर्क गरिएको छ । प्रस्तावक मगरले दर्ता गरेको पत्रमा यस्तो उल्लेख भएको छ ‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्ने दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दु धर्म,बौद्ध धर्मको दर्शन,किरात सभ्यता,मिथिला सभ्यता,लिम्वूवान संस्कृति,विराट क्षेत्रको इतिहास,कोच संस्कार र संस्कृतिलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै एतिहासिक,धार्मिक तथा जातजाती,भाषा,सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमाल देखि पहाड र तराईंको भूभागमा कोशी नदी प्रवाह क्षेत्र भित्रै सम्पूर्ण अवसथाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ । ’