काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ अग्यौलीमा वर्षौ पुरानो बाटो टोल सुधार समितिले बन्द गरिदिएको छ । केहि दिन अघि बसेको टोल सुधार समितिको बैठकले बाटो बन्द गर्ने निर्णय गरेको हो । बाटो बन्द गर्ने समितिको उक्त निर्णयले ७ घर थारू विचल्ली भएका छन् । उनीहरूले उक्त बाटो वषौंदेखि प्रयोग गर्दै आएका छन् । टोल सुधार समितिले बाटो बन्द गरेर सार्वजनिक जग्गा संरणक्षण निर्माण समिति समेत बनाएको छ ।
उक्त स्थानमा १४–१५ कट्टा सार्वजनिक जग्गा छ । समितिले बनाएको निर्माण समितिले नापी ल्याएर जग्गा नापेको स्थानीय बताउँछन्। नापी गर्दा सार्वजनिक जग्गामा बाटो देखिएको थियो । ७ घर थारूले उक्त बाटो पुस्तौदेखि प्रयोग गर्दै आएका छन् । उक्त सार्वजनिक जग्गा समेत २०५४ सालसम्म उनीहरूले नै प्रयोग गर्दै आएका थिए । गाउँमा रहेको अन्य ठाउँको सार्वजनिक जग्गा टाठाबाठाले व्यक्तिको नाममा ल्याए । तर, उनीहरू आफैले प्रयोग गर्ने ती जग्गा आफ्नो नाममा ल्याउन चासो दिएनन् ।
सार्वजनिक जग्गामा बाटो देखिएको भन्दै निर्माण समितिले उनीहरूलाई प्रयोग गर्न दिन नसकिने भन्दै बाटो बन्द गर्न लागेको एक स्थानीय थारू बताउँछन्। उक्त थारूका अनुसार बिगत २०५४ सालदेखि गाउँलेले बिभिन्न बहानामा दुःख दिने गरेका छन् । यो विषयमा गाउँका टाठाबाटाहरूले थारू महिलामाथि हातपात समेत गरेका छन् ।
पीडित परिवारले बाटो माग्दा समेत कुनै सुनुवाई नगरी जबर्जस्ति बाटो बन्द गर्ने काम गरेको स्थानीय बताउँछन्। बर्षौदेखि प्रयोग गर्दै आइरहेको बाटो बन्द हुँदा आवतजावतमा समस्या पर्नुको साथै पधेरोमा पानी लिन जान समेत पीडित परिवारले बताएका छन्।
जग्गा संरक्षण समितिका सचिव तथा पूर्ववडा सदस्य टिकाराम महतो बाटो बन्द नगरेको बताउँछन् । उनले आफूहरूले बाटो छोडेर जग्गा संरक्षण गरेको दाबी गरे । उनले त्यस क्षेत्रमा बनाएको कतिपय घर सार्वजनिक जग्गा भित्र रहेको तर त्यसलाई छाडेर आगनको भागसमेत खुला हुने गरि वाल लगाउने निर्णय भएको उनी बताउँछन् । यसअघि समेत त्यहाँको सार्वजनिक जग्गा हडपेका कारण टोल सुधार समितिले जग्गा संरक्षण गर्न लागेको महतोको भनाइ छ । हिजो कति थियो भन्दा पनि अहिले भएको जग्गा संरक्षण गर्ने उद्देश्य रहेको महतो बताउँछन् ।
अहिले जग्गा संरक्षणको लागि वाल लगाउने काम सुरु भएको छ । सचिव महतोका अनुसार वस्तीका मानिस आवतजावत गर्नका लागि कोही ठाउँमा ६ मिटर र कोही ठाउँमा १ मिटर जग्गा बाटोका लागि छाएिको छ ।