आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ । युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा आज भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो ।
जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा एक सय ८४ रनमा समेटियो । युएईका लागि इथन डिसुजाले ६६ बलमा ५ चौकाको मद्दतमा सर्वाधिक ५० रनको योगदान दिए भने आर्यन सक्सेनाले ३४, आर्यन्स शर्माले ३२, अमर बदामीले १९, ध्रुव परासरले १७ तथा मारुफ मर्चेन्टले अविजित १२ रन बनाए । नेपालका लागि दिपेश कँडेलले पाँँच तथा सुवास भण्डारी र हेमन्त धामीले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९१ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन जोडे ।
उनले ८४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५१ रन जोडेका हुन । यसैगरी विशालविक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ तथा मिलन बोहराले १० रन बनाए । युएईका लागि ध्रुव परासरले तीन, हरित सेट्टी र कप्तान आयन खानले समान दुई÷दुई विकेट लिए । त्यस्तै हर्षित सेठ र अमर बदामीले समान एक विकेट लिए । नेपालले छनोट चरणको पाँच खेलमा पाँचै वटामा जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८६, दोस्रो खेलमा कुवेतलाई दुई सय ४३, तेस्रो खेलमा हङ्कङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।