२१ बैशाख २०८३, सोमबार 1777889243
Banner

यात्रुसँग बढी भाडा असुल्ने टिकट काउन्टरका ५ कर्मचारी बल्खुबाट पक्राउ

काठमाडौं । यात्रुसँग निर्धारितभन्दा बढी भाडा असुल्ने टिकट काउन्टरका पाँच जना कर्मचारी पक्राउ परेका छन् । शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरमा काम गर्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दाबढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरेका हुन् ।

चाडपर्व (होली)को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दाबढी भाडा लिने गरेको गुनासो आएपश्चात ट्राफिकले सादा पोशाकमा समेत जनशक्ति परिचालित गरेको हछ ।