६ मंसिर २०८१, बिहिबार 1732231003
कृषि

चारवटा स्थानीय तहमा सुन्तला जोन कार्यक्रम सञ्चालन

यहाँका चारवटा स्थानीय तहमा सुन्तला जोन कार्यक्रम सञ्चालन भएको छ । पाल्पाको तानसेन, बगनासकाली, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन कार्यक्रम सञ्चालन भएको हो । सुन्तलाको व्यावसायिक रूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तला जोन कार्यक्रम सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले जानकारी दिनुभयो ।

५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तलाको खेती गरेर जोन विस्तार गर्ने कार्यक्रम सुरु भएको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रका किसान व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । सुन्तला जोन कार्यक्रमले उनीहरूलाई व्यावसायिक बनाउन, तालिम, अनुदान तथा बजारीकरणमा सहयोग पुग्ने जिल्ला समन्वय समितिकी प्रमुख मीरा मरासिनीले बताउनुभयो । यो वर्ष पाल्पाका विभिन्न स्थानबाट पाँच करोड रुपियाँभन्दा बढीको सुन्तला बिक्री भएको बताइएको छ ।

सुन्तला खेतीको व्यावसायिक विस्तारसहित भण्डारण गरी बेमौसममा समेत बिक्री गर्नसके यसबाट राम्रो फाइदा लिन सकिनेछ । जिल्लामा उत्पादित सुन्तलालाई प्रशोधन गरी बजार पठाउन सके किसानले राम्रो आम्दानी गर्न सक्ने रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले बताउनुभयो ।