काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रबार ४ बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ। प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ।
‘आज ४ बजेभित्र शपथ गर्ने तयारी छ। त्यसैका लागि पीएम शीतल निवास जानुभएको हो’, बालुवाटार स्रोतको भनाइ छ।
सत्ता गठबन्धनमा रहेका १० दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो। पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएपछि नेपाली कांग्रेस लगायतका दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा लागेका हुन्। ३ दलले सरकार छोडेपछि प्रधानमन्त्रीको जिम्मेवारीमा १६ मन्त्रालय छन्।