२० बैशाख २०८३, आइतबार 1777842143
पर्यटन

जुगल आरोहण खुल्ला गरेपछि स्थानीयमा खुसी

विसं २०७५ देखि आरोहण खुल्ला गरिएको जुगलअन्तर्गतका अन्य हिमाल आरोहणका लागि खुल्ला गर्ने मन्त्रीपरिषद्को निर्णयले यस क्षेत्रका बासिन्दामा खुसी थपेको छ ।

काठमाडौँबाट तीन दिनमै पुग्न सकिने नजिकको गन्तव्यका रूपमा रहेको जुगल हिमालमा आरोहण खुल्ला गर्ने निर्णय भएसँगै यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

गत चैत २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त हिमालअन्तर्गत ‘जुगल–१’ देखि ‘जुगल–५’ नामाकरण भएका पाँच चुचुरा आरोहणका लागि खुल्ला गर्ने र पाँच वर्षसम्म शुल्क नलिने निर्णय गरेको थियो । उक्त हिमालअन्तर्गतका आठ हिमालको आधार शिविर नजिक ने–पेमाछाल उपत्यकामा पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम गरिएको छ ।

छ हजार एक सय ५१ मिटर अग्लो जुगल हिमालमा पहिलोपटक विसं २०७५ को चैतमा सफल आरोेहण गरिएको थियो । हालसम्म औपचारिकरुपमा मानव पाइला नपुगेको ग्याल्जेन चुली जुगल हिमशृङ्खलाअन्तर्गत पर्ने आठमध्ये एक रहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिनुभयो । जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालअन्तर्गत दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायतका हिमाल पर्दछन् । दोर्जे लाक्पाको उचाइ छ हजार नौ सय ६६ मिटर छ ।

यससम्बन्धी जानकारी दिन यहाँ आयोजित एक कार्यक्रमलाई पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक–१ का सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमालकुमार श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व रहेको ने–पेमाछालमा लामा गुरुले पूजा आजा समेत गरिएको थियो भने पर्यटन प्रवद्र्धनका लागि यहाँ विविध कार्यक्रमको पनि आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोले बताउनुभयो ।