१५ श्रावण २०८३, शुक्रबार 1785515643
Banner

मंसिरको चुनाव भन्दा ११ हजार बढि मतले रवि लामिछाने निर्वाचित

काठमार्डौं । आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणाममा लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ४३०६१ छ।

यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत र राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गरे ।

चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार एक सय ९८ बदर भई ७७ हजार चार सय ६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका थिए ।

ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।

गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनमा ८४ हजार सात सय ५३ मत खसेको थियो । त्यसमध्ये ८३ हजार नौ सय ५६ सदर मत थियो । उक्त समयमा एक लाख २४ हजार दुई सय १५ मतदाता रहेका थिए । मङ्सिरमा १० दल र छ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो भने यसपाली १२ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए ।

चितवन क्षेत्र नं–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वडा पर्छन् ।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए।