काठमाडौं । रुपन्देहीमा २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म २ सय २८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन्।
रोजगारी, अध्ययन लगायत विभिन्न अवसरको खोजी गर्दै विदेश जानेहरूले उतैको नागरिकता लिएपछि नेपाली नागरिकता त्याग गरेका हुन्।
२०६८ सालमा तिलोत्तमाकी रिना सार्कीले बेलायतको नागरिकता लिन पहिलोपटक नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासनको रेकर्डमा छ।
त्यस्तै गएको चैत दोस्रो साता सियारी गाउँपालिकाकी स्वस्तिमा कामीले पनि बेलायतको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्याग गरेकी छन्।
यसअघि २०७५ साल भदौ ६ गते बुटवलका एकै परिवारका ५ जनाले एकैदिन नेपाली नागरिकता त्यागेका थिए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कानूनतः २ देशको नागरिकता लिन नपाइने भएपछि बाह्य मुलुकको नागरिकता लिन नेपाली नागरिकता त्याग्नेहरू बढिरहेको बताए।