काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्।
‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएकोमा अहिले त्यो बिस्तारै कम हुँदै गएको बताएका हुन्।
‘नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो टाट पल्टिन लाग्यो भनेर गत वर्ष जुन आतंक सिर्जना भएको थियो, अहिले त्यो आतंक त्यति छैन। हामी अहिले श्रीलंकाको उदाहरण दिँदैनौं,’ प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रको समस्या गम्भीर छ। तर हामी आतंकित हुनुपर्ने अवस्था छैन। यसलाई कसरी सहज तुल्याउने भन्नेतर्फ सरकार केन्द्रित छ।’