काठमाडौं। कोशी प्रदेशमा ३ वर्षको अवधिमा ३ सय ३९ जनाको हत्या भएको छ। आर्थिक वर्ष ७७–७८ देखि चालु वर्षको बैशाख १५ सम्ममा ३ सय ३९ जनाको हत्या भएको कोशी प्रदेश प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७७–७८मा १५३ जना, ७८–७९मा १३२ जना र चालु आर्थिक वर्षको वैशाख १५ सम्ममा कोशी प्रदेशमा ६४ जनाको हत्या भएको उल्लेख छ।
कोशी प्रदेशमा ३ वर्षमा १ सय ५८ वटा ज्यान सम्बन्धी मुद्दा दर्ता भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार ७७–७८ मा ४९ वटा ७८–७९मा ६७ वटा र चालू आर्थिक वर्षमा ४२ वटा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
कोशी प्रदेशमा ३ वर्षको अवधिमा १ हजार ४९९ वटा जबरजस्ती करणीका घटना भएका छन्। आर्थिक वर्ष २०७७–७८मा ५ सय ९० जना ७८–७९मा ५९१ जना र चालू आर्थिक वर्षको वैशाख १४ सम्ममा ३९० जना महिला तथा बालिका बलात्कार सिकार भएका छन्।
यो अवधिमा ३९३ वटा जबरजस्ती करणी उद्योगमा पनि मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। जबरजस्ती करणीमा आर्थिक वर्ष ७७–७८मा १७० वटा आर्थिक वर्ष ७८–७९मा १ सय ३९ वटा र चालू वर्षमा ८४ वटा जबरजस्ती करण उद्योगमा मुद्दा दर्ता भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले प्रदेशमा मानव बेचबिखनको घटनामा भने क्रमशः कमी आउँदै गएको बताए।
उनका अनुसार ७७–७८मा कोशी प्रदेशमा २३ वटा मानव बेचबिखनको मुद्दा दर्ता भई कारबाही भएकोमा ७८–७८मा भने यो प्रदेशमा मानव बेचविखनका १८ वटा मुद्दा दर्ता भएका छन्।