११ मंसिर २०८१, मंगलबार 1732612884
समाचार

बुटवलका मासु पसलमा अनुगमन

भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ ।

उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो । उपमहानगरपालिकाले २९ मासु पसल र ‘सप्लायर्स’मा अनुगमन गरी एक सय एक किलो अखाद्य मासु जफत गरी नष्ट गरेको छ ।

बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी सङ्घ सहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यबाहक प्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।

अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसल एकैठाउँमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा ‘सप्लायर्स’लाई चेतावनी दिँदै सुधार गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

उहाँले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकालाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने जानकारी दिनुभयो । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताउनुभयो ।

मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपक्षी बध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताउनुभयो ।