काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्दबारे आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत दिएको चेतावनीबीच चलचित्र संघले हलहरूमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रूपमा हलहरूमा प्रदर्शन गर्ने निर्णय गरेको चलचित्र संघले जनाएको छ । बिहान केएल टावरस्थित फिल्महलबाहेक अन्त फिल्म रिलिज भएको थिएन ।
तर, संघमा छलफल गरिएलगत्तै महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको संघले जनाएको छ । आदिपुरुषमा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको संघको दाबी छ ।
मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघले आकस्मिक बैठक बोलाएको थियो ।
विहीबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि आपत्ति जनाएका थिए।