११ कार्तिक २०८१, आइतबार 1730024192
Banner

इमाडोलमा बीच बाटोमै पल्टियो बस

काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो।

बसमा २४ जना सवार भएपनि १८ जना घाइते भएको प्रहरी परिसर जावला खेलका प्रहरी प्रमुख एसएसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।

घाइते भएका १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल लगिएको शाहले जानकारी दिए । उनका अनुसार सबै घाइतेहरू खतरामुक्त रहेका छन् ।

बसका चालक २४ वर्षीय सुजन पनि घाइते छन्। उनको पनि सोही अस्पतालमा उपचार भइरहेको एसएसपी शाहले बताए ।

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको अनुमान गरेको छ।

‘बस करिब १० मिटर घिस्रिएको छ, दुर्घटना कसरी भयो भन्ने अनुसन्धानमै छौं’ शाहले भने । घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको पनि उनले जानकारी दिए।

तस्विरः पूर्णप्रसाद श्रेष्ठ