२७ बैशाख २०८३, आइतबार 1778408371
अर्थ

नेप्सेको उकालो यात्रा कायमै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ ।
आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता शेयर रू चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन् ।

आइतबार बैंकिङ समूह तीन दशमलव ५५ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा छ सय ९४ दशमलव १४ र निर्जीबन बीमा समूहको उपसूचकमा पाँच सय दशमलव ३० अङ्कको वृद्धि देखिएको छ ।

विकास बैंक ५० दशमलव १२, वित्त ३५ दशमलव ७७, होटल तथा पर्यटन दुइ सय ९४ दशमलव ४०, जलविद्युत् एक सय दुइ दशमलव ०१, लगानी एक दशमलव ०४ र उत्पादन तथा प्रशोधन समूह एक सय ४२ दशमलव ०१ अङ्कले बढेको छ । ्
त्यस्तै, लघुवित्त समूहको उपसूचक एक सय तीन दशमलव ५२, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ८७ दशमलव ०८ र अन्य समूह ८६ दशमलव ३० अंकले बढेको छ ।

आजको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रीन भेञ्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सबैभन्दा धेरै गुमाउनेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ३६ करोड ६४ लाख ९९ हजार एक सय ५८ बराबरको छ लाख ४९ हजार छ सय पाँच कित्ता शेयर खरिद बिक्री भएको छ ।

Tags :