२७ बैशाख २०८३, आइतबार 1778411830
अर्थ

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले गिरावट भएको छ ।

केही दिनयता लगातार बढेको सेयरबजार बुधबार परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ बिन्दु कायम भएको हो ।

दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता सेयर तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ ।

यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचकमा ५२ दशमलव ०५ अङ्कको गिरावट देखिएको छ । त्यस्तै बैंकिङ नौ दशमलव ९९, वित्त २८ दशमलव ०४, जलविद्युत् ४१ दशमलव ८७, लगानी एक दशमलव २०, लघुवित्त ४० दशमलव ३८, म्युचुअल फन्ड शून्य दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ८३ र अन्य समूह सात दशमलव ३० अङ्कले घटेको छ ।

सिटी होटल लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्यमा छ दशमलव ९८ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २३ करोड छ लाख ४१ हजार तीन सय २७ बराबरको चार लाख २३ हजार एक सय ९८ कित्ता शेयर किनबेच भएको छ ।

Tags :