१० कार्तिक २०८१, शनिबार 1729958974
समाज

के कुराकानी भयो, सभामुख घिमिरे र उत्तर कोरियाली राजदूतबीच ?

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले भेटेका छन् । बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा उनले सभामुख घिमिरेलाई भेटेको हुन् ।

भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको छ ।

सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदानप्रदान एवं भ्रमणको स्मरण गर्नुभएको थियो । ‘विगतमा हाम्रा माननीयहरुले उत्तर कोरियाको भ्रमण गरेका थिए ।

उनले भने , ‘कोरियाली संसद्मा उत्तरकोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको छ ।’ उनले निकट दिनहरुमा नै नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिए ।

सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गरे ।

उनले सांसदहरुमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिए ।

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद्)ले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुन निर्माण गर्दै गएको जानकारी गराएका थिए ।

उनले बालबालिकासम्बन्धी कानुन पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिए ।

सन् १९७४ मा नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशहरु बीचको सम्बन्ध मैत्रीपूर्ण रुपमा अगाडि बढिरहेको छ ।