१० कार्तिक २०८१, शनिबार 1729973438
Banner

संकटमा परम्परागत आरन पेसा

काठमाडौं । शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ ।

त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिनुहुन्छ ७० वर्षीय पदमे लुहार । उनी एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहनुहुन्छ ।

लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउनुहुन्छ । बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिक्नुभएका उहाँले आरन व्यवसाय सञ्चालन गरेको ५२ वर्ष भयो । ‘यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ,’ लुहारले भने ।

आरन पेसा अपनाउँदै आउनुभएका लुहार बिगतमा निकै दुःख खेप्नु परेको बताउँछन् । केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसवापत उहाँले नगद पाउँछन् । यही पैसोले लुहारले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन् ।

‘छोराहरुले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेशा सङ्कटमा पर्ने चिन्ता छ,’ उनी भन्छन् ।

आरन व्यवसाय सङ्कटमा परेको छ । ‘बजार अभाव छ, त्यसैले आरन व्यवशाय गाउँघरबाटै हराउँदै गएको छ,’ स्थानीय दीपेन्द्र धामीले भने ।

परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ ।

आरन व्यवसायी गङ्गराम लोहार यही पेसालाई आधुनिक ढङ्गले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन् । ‘अहिलेका युवाको यो पेसाप्रति चासो छैन,’ उनले भने ।

पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो । भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ । अहिले दाउराको पनि अभाव हुन थालेको छ ।

स्थानीय गजेन्द्र लुहार भन्छन्, ‘मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ,’ उनले भने ।

आठ जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको लुहारले बताए । सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।

Tags :