१० कार्तिक २०८१, शनिबार 1729980658
Banner

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन्ः माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे ।

जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दवाव दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष नेपालले जन सेवाको कामलाई सहज बनाउने गरी अघि बढन सरकार र सांसदहरुको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यक्ता औंल्याए ।

उनले भने, ‘यो देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरु एकतावद्ध भई अगाडि बढनुपर्ने हुन्छ । अहिले हाम्रो देशलाई विकासको यात्रालाई अगाडि बढाउनु पर्नेछ । जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरुकै हुन्छ । जनताको प्रतिनिधिको हैसियतले सांसदहरुले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस अर्थमा सांसदहरुको भूमिका कतिको प्रभावकारी हुन सकेको छ रु सांसदहरुको दवावले कति काम गर्न सकिएको छ ? यो आफ्नो ठाउँमा छ । सांसदहरुको भूमिकाको सन्दर्भमा सरकारको भूमिकाको महत्वपूर्ण भूमिका हुन्छ । सुन्नुपर्ने निकायले सुनिदिएन भने, गर्नुपर्ने निकायले चासो राखि दिएनन् भने त्यसले ठूलो समस्या खडा गर्छ । त्यसो हुनाले सबै बीचको सम्बन्ध अनुन्याश्रित छ ।’

अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्नेमा पनि जोड दिए ।