७ भदौ २०८३, आइतबार 1787515510
समाचार

जातीय विभेदविरुद्ध जसपाको विरोध

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार काठमाडौँको माइतीघर मण्डलामा आज दिउँसो १ बजे उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गरिनेछ। उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्तालगायत आम नागरिकलाई जातीय विभेदविरुद्धको आन्दोलनमा सहभागी हुनसमेत सो पार्टीले आह्वान गरेको छ।

कार्यक्रम पार्टी सम्बद्ध शिल्पी दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति सङ्गठनको संयुक्त आयोजनामा हुने जनाइएको छ।