११ कार्तिक २०८१, आइतबार 1730031555
Banner

कोशी सरकार गठनमा सकस : आज अन्तिम दिन तर, बहुमत जुटाउन हम्मे हम्मे

काठमाडौं। कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ। तर, दलहरूलाई भने अहिलेसम्म बहुमत दाबी गर्न समेत हम्मे हम्मे भएको छ ।

एमाले नेतृत्व सरकार ढलसँगै कोशीमा माओवादी–कांग्रेस गठबन्धनको सरकार बनाउने प्रयास भइरहेको छ । तर, उनीहरूसँग बहुमत नहुँदा मुख्यमन्त्री दाबी गर्न समस्य भइरहेको छ ।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन्।

उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन्। केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन्।

नयाँ सरकार गठनकै लागि तीव्र छलफलमा रहेका दलका प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन्।

गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ। उनैलाई राप्रपालाई सहमतिमा ल्याउने जिम्मा पनि दिइएको छ। ६ सिट रहेको राप्रपाले सहयोग नगरे अब बन्ने सरकारको भविष्य पनि ३० दिनपछि अन्योलग्रस्त देखिन्छ। अहिलेसम्म राप्रपाले नयाँ सरकार गठनका लागि सहयोग गर्ने, नगर्नेबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन।

कोशीमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ नै आवश्यक सङ्ख्या हो। यद्यपि गठबन्धन दलले सभामुखसहित ४७ पुर्याए पनि विश्वासको मत लिँदा उनले बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउनेछन्।

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत १५ गते प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि ढलेको हो। यसअघि उनलाई समर्थन गरेको माओवादी र जसपाले समर्थन फिर्ता लिएका थिए। मुख्यमन्त्रीमा कार्की २०७९ पुस २४ संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नियुक्त भएका थिए।

सोही धारा र उपधारा अनुसार आज सरकारको गठनका लागि कसैले पनि बहुमत दाबी गर्न नसके पुनः ठुलो दलको नेताको हैसियतमा उनै कार्की धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री बन्नेछन् ।