२३ आश्विन २०८१, बुधबार 1728499385
Banner

सफल कृषिकको कथा : आफ्नै उत्पादन आफ्नै व्यापार

काठमाडौं । देवराज सुवेदीको गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी र केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुरा छन् ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् । वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भएका हुन् । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनका गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनी कृषि पेसामा आकर्षित भएको बताउनुहुन्छ । ‘आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?’ उनले भने ।

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उहाँले विदेश जाने निधो गरे । र, मलेसिया हुइँकिए ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुग्नुभएका उहाँ मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन् । ‘मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु,’ उनले भने ।
मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उहाँ त्यहाँबाट भागेर स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उहाँको मनबाट हटेन । र, फेरि उनी कतार गए । कतारमा उनले विमानस्थलमै काम पाए । तर, सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उहाँ फेरि स्वदेश नै फर्किए ।

घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे । र दुबई गए । दुबईमा पेट्रोलपम्पमा काम पाए । तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनी फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा पाँच लाख लिएर फर्किए ।

७५ लाखको लगानी

गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर रु ७५ लाखको लगानी रहेको बताउछन् । दूध बोक्नलाई बोलेरोसमेत किन्नुभएका उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिनुभएको बताउँछन् । ‘मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु । ३५ लाखको वस्तुमात्रै छन्,’ उनले भने । सुरुमै त्यत्रो लगानी गर्छु भन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी बताउँछन् ।
‘सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो,’ उनले भने। अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।

विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक रु तीन लाख आम्दानी गर्नुहुन्छ । गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख बच्छ । ‘महिनामा तीन लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि,’ उनले भने । उनी पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन् । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन् ।

राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उहाँ दूध बेच्ने पनि गर्नुहुन्छ । उनको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उनले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्नुहुन्छ । उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उहाँलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उहाँको गाई फार्मबाटै उनलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उहाँ पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन् ।

आफ्नै उत्पादन आफ्नै व्यापार

जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गर्नुभएका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गर्नुभएका उहाँ गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उहाँको मुहारमा खुसी छाएको हो ।

सुरुमा पाँच लाख लगानी गरेर कुखुरापालनसमेत गर्नुभएका उहाँ हतार र हतास गर्न नहुने बताउँछन् । उनी सफलता मानिसको पछि– पछि आउने गरेको बताउँछन् । ‘हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ,’ उनी भन्छन् ।

रासस

Tags :