१० कार्तिक २०८१, शनिबार 1729981114
Banner

नक्कली भुटानी शरणार्थी प्रकरण: थप एकजना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंका ५९ वर्षीय केशव तुलाधर पक्राउ परेका हुन् । उनी बुधबार काठमाडौंकै सानो भर्‍याङबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।
यो मुद्दामा यसअघि पक्राउ परेका १८ मध्ये काठमाडौं जिल्ला अदालतले दुईलाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो ।

यही असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो ।

आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै, ‘हाई प्रोफाइल’हरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबै प्रतिवादीलाई जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा थुनामा पठाइएको थियो ।

तीमध्येका केही प्रतिवादीले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

Tags :