काठमाडौं । राष्ट्रिय जनमोर्चाले मिटरब्याजसम्बन्धी विधेयक तत्काल ल्याउन आग्रह गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याजसम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको आशंका भएको भन्दै एक विज्ञप्तिमार्फत् यस्तो आग्रह गरेका हुन् ।
मिटरब्याजपीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ केसीले विज्ञप्तिमा उल्लेख छ ।
मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहन गरिरहेको भन्दै केसीले त्यस्तो शोषण कार्यलाई रोक्न र शोषण र दोहन गर्नेहरूलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
‘देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ’ केसी भनेका छन् ।
सरकारले गत वैशाखमा ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश गत २० असारदेखि निष्क्रिय भएको छ । सरकारले समयमा नै प्रतिष्थापन विधेयक संसदबाट पारित नगर्दा मिटरब्याजसम्बन्धी अध्यादेशले गरेका व्यवस्था शून्यमा गएको छ ।
राष्ट्रिय जनमोर्चाले बाढी पहिरो र डुबानबाट जनधनको क्षति हुनबाट बचाउन आवश्यक सबै कदम उठाउन र बाढीपीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।