८ मंसिर २०८१, शनिबार 1732406790
Banner

उन्नाइस विद्यालयका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा

काठमाडौं । मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिनुभएको छ । राजीनामा दिनेहरुमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु हुनुहुन्छ ।

प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्लेख छ । “सहमति बिपरितको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकलाई काम गर्ने मनोबल कमजोर भइरहेको परिस्थिति छ ।” राजीनामा पत्रमा उल्लेख छ । विद्यालयको गुणस्तर सुधारको नाममा गाउँपालिकाले विना कारण प्रधानाध्यापकको सरुवा गर्न खोजेपछि सामूहिक रुपमा राजीनामा दिन बाध्य भएको बताइएको छ । एक प्रअका अनुसार प्रधानाध्यापकबाट राजीनामा दिए पनि पढाउन भने छाड्ने छैनन् । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने गाउँपालिकाले गरेको सरुवाको निर्णयमा धेरै प्रधानाध्यापक सहमत भइसकेको जानकारी दिनुभयो ।

उहाँले शिक्षक महासङ्घका अध्यक्ष नवराज डोटेलले विषयलाई राजनीतिकरण गराएर अनावश्यक बखेडा झिक्न खोजेको दाबी गर्नुभयो । “अहिले सार्वजनिक गरिएको राजीनामा करिब १० दिन अगाडिको हो । हामी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानमा छौँ । प्रधानाध्यापकलाई सकेसम्म आपसी समझदारीमा सरुवा हुनुहोस् भनेका हौँ । उहाँहरुले नमानेपछि हामीले सरुवा गर्न खोजेका हौँ ।” अध्यक्ष कालाखेतीले स्पष्ट पार्नुभयो । पालिकाको शिक्षा क्षेत्र सुधारका लागि पालिकाले शिक्षकलाई प्रत्येक महिना तलब खुवाउने, उत्कृष्ट शिक्षकलाई पुरस्कार र सम्मान गर्ने, प्रधानाध्यापक भत्ता पाँच सयबाट बढाएर दुई हजार पुर्याउने अभियानमा रहेको कालाखेतीले जानकारी दिनुभयो । “शिक्षा क्षेत्र सुधार्ने विषयमा सबैको साथ आवश्यक छ । यो गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णय हो ।

सकेसम्म आपसी समझदारीमै सरुवा हुन समय दिनेछौँ । तर कसैले मान्दिन भन्छ भने हामी कानुनअनुसार अघि बढ्नेछौँ ।” अध्यक्ष कालाखेतीले भन्नुभयो ।