२९ असार २०८३, सोमबार 1783945674
Banner

एकीकृत समाजवादी सचिवालय बैठक सोमबारसम्म स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आगामी साउन १ गते सोमबारसम्म स्थगित गरिएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफलको क्रम जारी रहेकाले बैठक सोमबार बिहान पुनः बस्ने गरी स्थगित गरिएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिनुभयो ।

समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा आगामी कामको विस्तृत योजना, कार्ययोजना, कार्यविभाजन, बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन गर्ने विषयमा नेताहरूले धारणा राख्नुभएको थियो ।

पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा कसलाई मनोनित गर्ने भन्ने विषयमा आगामी बैठकमा प्रस्ताव तथा कमिटीका समायोजन तथा थपघटबारे छलफल गरिनेछ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।