१७ आश्विन २०८३, शनिबार 12:01 pm
Banner

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने देउवाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन्।

देउवा निवास धुम्बाराहीमा आइतबार अपराह्न भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका हुन्।

मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ।

धुम्बाराही बैठकमा सहभागी पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति बैठक लाइभ गर्न सभापति देउवाले प्रस्ताव गरेको जानकारी दिए।

‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्नेबारे छलफल भयो। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, केहीले लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय राख्नुभयो,’ कोइरालाले भने, ‘भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ।’

केन्द्रीय समिति बैठकमा धारणा राख्दा उठान नगरेका विषय पनि नेताहरूले पछि मिडियामा उठान गर्ने गरेको भन्दै सभापति देउवाले यसअघि नै बैठक लाइभ गर्नुपर्ने बताउँदै आएका थिए।

कांग्रेसको केन्द्रीय समिति बैठक एक वर्षपछि मंगलबार बस्दैछ। लामो समयदेखि बस्न लागेको बैठकलाई चासोपूर्वक हेरिएको छ।