काठमाडौं । नेकपा एकता राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले केपी शर्मा ओलीले आफ्नो व्यवस्थापनबारे केही नगरेपछि एमालेमा फर्किन नपाएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
साथै उनले आफूबाहेक एमालेले अरू कार्यकर्तालाई मात्र समायोजन गर्न खोजेको बताए ।
उनले भने, ‘केपी ओलीले मलाई काम दिने,मेरो व्यवस्थापनबारे केही पनि बोल्नुभएन । बरु मलाई पार्टी फुटाउनुभयो,प्रचण्डलाई तपाईँले साथ नदिएको भए पार्टी फुट्ने थिएन भन्नुभयो । तपाईँहरूले लगाएको आरोप पुष्टि भएको भए आज म जेलमा हुन्थेँ भन्नुभयो । एमाले समाप्त पारेर माओवादी बलियो बनाउन खोज्नुभयो भनेपछि म त्यहाँ रहन सक्ने देखिन ।’
ओलीसँग आफ्नो ४३ वर्ष लामो सम्बन्ध रहेको भन्दै गौतमले फेरि पनि ओलीले बोलाएमा आफू जाने बताए ।