११ कार्तिक २०८१, आइतबार 1730010092
राजनीति

नेकपा एमाले काठमाडौं महानगर वडा कमिटी र पुष्पलाल स्मृति केन्द्रको संयुक्त आयोजनामा मनाइयो पुष्पलाल स्मृति दिवस

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अस्तु आफूहरूले नेपाल ल्याएको बताएका छन् । ४५औं स्मृति दिवसको अवसरमा एमाले काठमाडौं महानगर कमिटीले पुष्पलाल पार्क डल्लु पुलमा आयोजना गरिएको कार्यक्रममा उनले भारतमा मृत्यु भएका श्रेष्ठको शवलाई नेपाल ल्याउन नदिएको बताउँदै आफूहरुले जोडबलले अस्तु नेपाल ल्याएर अन्तिम संस्कार गरेको बताए ।

उनले भने, ‘आफूहरूले लुकिछिपी भारतबाट अस्तु ल्याउन सफल भयौं । सो अस्तु भोटाहिटीबाट पशुपतिसम्म लगेर अन्तिम संस्कार गयौँ । सो क्रममा म पनि सहभागी भएको थिए ।

पुष्पलालको जन्मभूमि रामेछापमा पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार कार्यक्रम गर्न महासचिव शंखर पोखरेल गएको र काठमाडौंमा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दिउँसो कार्यक्रम गरिने उनले बताए ।

पूर्वमन्त्री तथा एमाले काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले आफ्नो दाइ गंगालाललाई राज्यले मारेपछि पुष्पलालले संगठन निर्माण सुरु गरेको बताए । रगतले मृत्युका लागि हस्ताक्षर गरेर उनले एक्लै संगठन विस्तार सुरु गरेको भन्दै पोखरलेले राणा शासनलाई अन्त्य गर्ने ठुलो आँट गर्ने पुष्पलाल महान व्यक्ति भएको बताए । श्रेष्ठकै नेतृत्वमा काठमाडौंमा पहिलो जनआन्दोलन सुरु गरेको उनले बताए ।

त्यस्तै पूर्वमन्त्री एवं काठमाडौं महानगर इन्चार्ज रामेश्वर फुयालले देशको इन्जिनियरिङ श्रेष्ठले गरेको बताए । विश्वमा आन्दोलन चलिरहेको समयमा नेपालमा राजनीतिक इन्जिनियरिङ गर्ने र देश विकासको परिकल्पना श्रेष्ठले गरेको उनको दाबी छ । श्रेष्ठ जस्तो राजनेता नेपालका कमै भएको उनले बताए । उनले एमालेले पुष्पलालले देखेको सपना र उनले कोरेको राजनीतिक बाटोबाटै अघि बढीरहेको बताए । उनले नेपालको राजनीति मुलत पुष्पलालकै योजनाअनुसार अघि बढी रहेको बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाको पूर्वमेयर विद्यासुन्दर शाक्यले पुष्पलालले नेपालमा कांग्रेसबाट देशको परिवर्तन सम्भव नभएको भन्दै कम्युनिष्ट पार्टी खोल्न ठुलो आँट गरेको बताए । तर, उनको जीवनको उत्तराद्र्धधमा सबैले गाली गरेपनि अहिले सबै कम्युनिष्ट पार्टीले सम्मान गर्ने व्यक्तिको रूपमा स्थापित भएको बताए । व्यक्तिलाई मरणोउप्रान्तभन्दा जीवन कालमै सम्मान गर्नुपर्ने उनले बताए । पुष्पलालकै योजना २०४६ सालको जनआन्दोलन सफल भएको सुनाउँदै शाक्यले श्रेष्ठले अवलम्बन गरेको नीतिहरू आज पनि उत्तिकै सान्र्दभिक र आवश्यक भएको बताए ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले कम्युनिष्ट पार्टी मात्र समाज परिवर्तनको अगुवा भएको तथ्य स्थापित गरेको बताए । समाज परिवर्तनका लागि पुष्पलालले सारेको योजनाले अहिले पनि आम युवा वर्गमा उर्जा प्रदान गर्ने उल्लेख गरे ।

त्यस्तै काठमाडौं महानगर कमिटी उपाध्यक्ष तथा १८ नम्बर वडाका वडाध्यक्ष न्हुँछेकाजी महर्जनले पुष्पलाल भूमिगत समयमा आफ्नै टोलबस्तीमा लुकेर बसेको स्मरण गरे । आफूहरूले पुष्पलाललगायत अन्य नेताहरूलाई पनि यसरी नै सम्झदै आएको बताए । उनले मदन भन्डारी, मनमोहन अधिकारीलगायत सबै नेताहरूलाई सम्झदै आएको बताए ।

कार्यक्रमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, काठमाडौं जिल्ला सचिव राजेश शाक्यलगायत पार्टीका अन्य नेता उपस्थित थिए । कार्यक्रमा माधव कुमार प्रधानले श्रद्धाञ्जली गित गाएका थिए ।