१० कार्तिक २०८१, शनिबार 1729995003
Banner

मेरो राजीनामा माग्नु अस्वाभाविक होइन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो राजीनामा माग्नुलाई अस्वाभाविक नठानेको बताएका छन् । मंगलबार गृहजिल्ला पुगेका श्रेष्ठले भेटघाटका क्रममा यस्तो बताएका हुन् ।

त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजीनामा मागेकोबारे पत्रकारहरुले मागेको प्रतिक्रियामा मन्त्री श्रेष्ठले आफूले त्यसलाई अस्वाभाविक रुपमा नलिएको बताए ।

उनले भने, ‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं । विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’

भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयासका लागि यस किसिमका अभिव्यक्ति आउन स्वाभाविक भएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयास असफल बनाउने र समृद्धिको लक्ष्य हासिल गर्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको करिब एक क्विन्टल सुन गत बुधबार राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

यो घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको मन्त्री श्रेष्ठले बताए । त्यसकारण सबै विमानस्थलको व्यवस्थापन नयाँ ढंगले गर्न लागिएको जानकारी उनले बताए ।

‘प्रधानमन्त्रीकै उपस्थितिमा हामीले सम्पूर्ण एयरपोर्टको सबै निकायहरुको नयाँ ढंगले त्यसको व्यवस्थापन गर्ने, नयाँ योजना बनाउने सोच बनाएका छौं,’ उनले भने, ‘प्रारम्भिक कदमको रुपमा आगमन कक्षमा लगेजको स्क्रिनिङमा होस् या कार्गोको स्क्रिनिङमा होस् कहिँ पनि प्रहरी उपस्थिति नहुने अहिलेको व्यवस्थालाई परिवर्तन गरेर त्यहाँ प्रहरीलाई उपस्थित गराउने र अरुको हकमा प्रविधि सहित नयाँ ढंगले व्यवस्थापन गर्ने भन्ने सोच बनाएका छौं ।’

Tags :