काठमाडौं । ललितपुरको पुल्चोकस्थित मन्त्री निवास अब सर्वोच्च अदालतका न्यायाधीशहरूको निवास बन्ने भएको छ । भैंसेपाटीमा मन्त्रीहरुको निवास निर्माण भएपछि पुल्चोकमा रहेको मन्त्री निवासलाई सर्वोच्च अदालतका न्यायाधीशको निवास बनाउने निर्णय भएको हो ।
पुल्चोकलाई न्यायाधिश निवास बनाउन मन्त्रिपरिषदबाट निर्णयको भइसकेको छ। उक्त निर्णय सर्वोच्च अदालतमा समेत पुगिसेकको छ । योसँगै सर्वोच्च अदालतका न्यायाधीशहरूले सामूहिक आवास पाउने भएका छन् ।
शहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा संघीय सरकारका मन्त्रीको निवासका लागि २७ वटा भवन बनाइसकेको छ ।
मन्त्री निवासको निर्माण सकिएको र आन्तरिक सजावट र व्यवस्थापनको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । आगामी दशैंसम्ममा मन्त्री क्वार्टर पूर्णरुपमा तयार हुने निर्माण कम्पनीले जनाएको छ ।
पुल्चोकको मन्त्री निवासमा भने १७ वटा भवन छन् । सर्वोच्च अदालतमा २१ न्यायाधीशको दरबन्दी छ, जसमध्ये प्रधानन्यायाधीशका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवाससँग जोडिएको छुट्टै निवासको व्यवस्था छ । सर्वोच्च अदालतमा सबै न्यायाधीशको पदपूर्ति भएमा पुल्चोकस्थित क्वार्टरमा ३ न्यायाधीशका लागि भवन नपुग्ने अवस्था छ ।