२३ भदौ २०८३, मंगलबार 1788876882
समाचार

पत्रकार महासंघको ६७ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाईँदै

काठमाडौं : नेपाल पत्रकार महासंघले आज विभिन्न कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनाउँदैछ। 

स्थापना दिवसको अवसरमा महासंघ केन्द्र, प्रदेश तथा जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गर्दैछन्। आज केन्द्रिय समितीको आयोजनामा प्रभातफेरीलगायतका कार्यक्रम हुने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए। काठमाडौंको सिनामंगल चोकदेखि केन्द्रिय कार्यालय सञ्चारग्रामसम्म प्रभातफेरी गरिएको छ। 

यस्तै महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य शिविर सन्चालन हुने महासचिव पुरीले जानकारी दिए। जस अन्तरगत मृगौला परीक्षण, दन्त परीक्षण र रक्तदान कार्यक्रम हुनेछन्। दिउँसो भने नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार तथा सञ्चार माध्यममा कोभिड १९ को प्रभावका विषयमा छलफल गर्ने कार्यक्रम छ। 

स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष विपुल पोख्रेलले महासंघले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको उल्लेख गरेका छन्। उनले प्रेस स्वतन्त्रता र श्रमजिविको सवाललाई केन्द्रविन्दुमा राखेर महासंघ काम गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्।