११ कार्तिक २०८१, आइतबार 1730016563
समाचार

आगामी ३ दिन मौसम सक्रिय रहने

काठमाडौं । आगामी ३ दिन मौसम सक्रिय रहने भएको छ । न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आगामी ३ दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशमा पनि आगामी तीन दिन पानी पर्ने प्रक्षेपण छ ।

नेपालको पूर्व र पश्चिम दुवै साइडमा न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने र मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तीन दिन लगातार झरी नहुने भएपनि वर्षाको मात्रा बढ्ने विभागले जनाएको छ ।

मधेशमा पर्याप्त पानी नपर्दा समस्यामा परेका किसानहरुलाई यो वर्षाले केही राहत मिल्ने सम्भावना छ । गएराति पनि मधेश प्रदेशका एक(दुई स्थानमा वर्षा भएको थियो । यो क्रम आज र भोलि अझै बढ्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने र त्यसबाट बाढी, पहिरो, डुबाको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।