काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी केन्द्रीय कमिटी बैठकमा उपस्थित रहेर पनि आफ्ना धारणा राख्न नपाएका केन्द्रीय सदस्यहरुलाई आफ्ना धारणा टिपाउन अनुरोध गरेका छन् ।
पाँच दिनयता जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सकिँदैछ । यसैक्रममा उनले बोल्न बाँकीहरुलाई आफ्ना धारणा टिपाउन अनुरोध गरेका हुन् ।
यस्तै, अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गरेका छन् ।
केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भने, ‘एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन ।’
नेताहरुले अझै बोल्न बाँकी १५० सदस्य रहेको भन्दै तिनले पनि मौका पाउनुपर्ने बताएका थिए । प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्न भनेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।