११ कार्तिक २०८१, आइतबार 1730030797
Banner

क्यान्टोनमेन्ट घोटला पनि छानबिन हुनुपर्छ : बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविरमा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले माओवादी शिविरमा भएको घोटलाबारे पनि छानबिन हुनुपर्ने बताएका हुन् । यस्तै, विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्ने बताए ।

विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानबिन गरी निकर्षमा पुर्‍याउनुपर्ने बताए ।

‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ, ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु’, उनले भने ।

आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले आरोप लगाए ।

ललितानिवास जग्गा प्रकरणमा आफूले छानबिनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए ।

Tags :