१७ आश्विन २०८३, शनिबार 8:24 am
समाचार

नारायणीमा पानीको बहाव बढ्यो, गण्डक ब्यारेजको सबै ढोका खोलियो

काठमाडौं। नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ। ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फको सबै ढोका खोलिएको हो।

पानीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजले जनाएको छ । ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ ।

ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ। नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ।

११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ। नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।