११ कार्तिक २०८१, आइतबार 1730016596
समाचार

बेँसीसहर–चामे सडक पुनःसञ्चालन

काठमाडौं । पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक पुनःसञ्चालनमा आएको छ ।

मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै उक्त सडक पुनः सञ्चालनमा आएको हो ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारी भने, ‘केही दिनअघिको वर्षाका कारण जमिन गलेर पहिरो आएको थियो । ढुङ्गामाटो हटाएर सडक पुनःसञ्चालनमा ल्याएका छौँ ।’

सञ्चालनमा आए पनि उक्त सडकखण्डमा यात्रा जोमिखपूर्ण बन्दै गएको छ । जीर्ण सडकमा दैनिकजसो ठाउँठाउँमा पहिरो जाने क्रम रोकिएको छैन ।

कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार मनाङलाई सडक सञ्जालसित जोड्न २०५१ सालमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले सडक निमार्ण थालेको थियो । बीचमा निर्माणको काम रोकिएको थियो ।

विसं २०५७ देखि सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । सेनाको कार्यगणले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो ।

झण्डै ६५ किमी दूरी रहेको उक्त सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी मनाङतर्फ पर्दछ ।

Tags :